लैंगिक असन्तुलनले निम्त्याएको नाटक

[addthis tool="addthis_inline_share_toolbox_7f6f"]
Spread the love

दुर्गाराज भट्टराई

एउटा जन्मनु नहुने बच्चा जन्मिए पछि सञ्चारका पृष्ठहरु यो विषयले बाक्ला भए । लाग्यो नलेखूँ । पृष्ठ माथि पृष्ठ थप गर्न, त्यही विषयमा, मेरो कलम जाँगर चलाउदैन । तर त्यो घटनाको खास दृश्यको विश्लेषण ओझेल परिरह्यो किनभने समाचार विश्लेषकहरु कि पुस्पाको गुण र दोष केलाउन कि युटुवरहरुको शैली प्रस्तुत गर्न व्यस्त देखिए । अनि फेरि लाग्यो लेखू किनभने एउटा छल सम्पन्न गर्नु नै त्यो बच्चाकी आमा र पुष्पा अधिकारीको झिनो उपाय थियो ।

    पेटमा कसैको गर्भ लिएर एउटी महिला काठमाडौ आइपुग्छिन् । कानुन, समाज र परिवारले पराइको गर्भ धारण गरेकि महिलालाई स्वीकार गर्दैन । त्यस कारण उनी जस्ताको त्यस्तै भएर घर फर्कने उपायको खोजिमा हुन्छिन् । उनले अपराधको बाटो अपनाउ दिनन् बरु शिशुलाई जन्म दिएपछि त्याग्ने योजना बनाउँछिन् । आफू बाँच्ने उनीसँग यही नै एउटा विकल्प हुन्छ ।

    अर्की पात्र छन् पुस्पा अधिकारी जसले वालआश्रम खोलेर दर्जनौ अनाथ केटाकेटीलाई आश्रम दिएकी छन् । उनी नवजात शिशुलाई जिम्मा लिन तयार हुँन्छिन् तर परिस्थितिले यस्तो बनाएको छ कि त्यो शिशु कसैबाट जन्मिएको नहोस् । पुस्पाको काँधमा एउटा अनौठो अविभारा आइलाग्यो कि एउटा यस्तो शिशुलाई अस्तित्वमा ल्याउनु पर्नेभयो जसको कुनै आमाबाट जन्म भएको नहोस् । हाम्रो सामाजिक व्यवस्था नै यस्तो छ, कुनै आमाले यो मेरो शिशुहो भनेर दावी गर्ने होइन बरु शिशुले आमा भन्ला कि भनेर आफ्नो परिचय लुकाउनु पर्छ ।

    रामायण कालमा एउटा विशेष प्रयोजनको लागि बारीको पाटो जोत्नलाग्दा सिताको उत्पत्ति हुन्छ जसलाई जनक राजाले पुत्री मानेर पाल्दछन् । सिताका बाबुआमाको खोजी गर्न त्यहाँ कुनै युटुवरहरु जाँदैनन् र उनी कसरी जन्मिइन् भनेर पुलिसले कुनै अनुसन्धान नै थाल्दैन । तर हाम्रो यात्रा यहाँ सम्म आइपुग्दा सिता उत्पत्ति भएजसरी कुनै शिशु उत्पत्ति हुँदैन । निश्चयनै शिशु कुनै आमाबाटै जन्मन्छ तर मञ्चमा आउन ती आमालाई अनुमति छैन । पुस्पाको दिमागले यही एउटा झिनु निकास पत्ता लगाउँछ जहाँ शिशुकी आमालाई पर्दापछाडि राखिन्छ र वेवारिसे अवस्थामा शिशुलाई एउटा कार्टुनमा सुतेर मुस्काइरहेको भेटिइन्छ । यही नाटक पुस्पाको लागि अहिले अभिशाफ बनेको छ ।

    हामी अहिले सजिलै भनिदिन्छौं पुस्पाले यसो गर्नुपर्थ्यो, उसो गर्नुपर्थ्यो किनभने हामीले घण्टौं लगाएर सोच्न पाएका छौं । अनि घटनाले लिएको मोडहरुको विश्लेषण गर्ने पाएका छौं । कानुनका बूँदा, धारा पल्टाउन पाएका छौं । तर एउटाले सोचेअनुरुप अर्कोले कसरी सोच्न सक्च ? प्रश्न पुस्पाले जे गरिन ठिक गरिन् भन्ने आशयतिर लक्षित छैन । प्रश्न हामी तिरै फर्किएको छ । हाम्रो समाजमा लैंगिक सन्तुलनको अवस्था अझै के छ ? यही असन्तुलन को परिणाम हो पुस्पाले रचेको नाटकको पृष्ठभूमि ।

    पुस्पाको समाज सेवा कति बैधानिर्क ? कति अवैधानिक ? आर्थिक हिसाब कति पारदर्शि ? कति अपारदर्शि ? भाग्य न्यौपानेको ढङ्ग कति पुग्यो ? कति पुगेन ? यी विषयहरुका आआफ्ना मान्यता कानुन र रीतहरु होलान् । बहस बढाउने द्वराहरु प्रशस्तै होलान् तर पुस्पाले अपनाएको अप्ठ्यारो बाटोको भागिदार उनी एक्लै होइनन् । युगौंदेखि समाजमा व्याप्त लैंगिक असन्तुलनको एउटा रिजल्ट हो शिशु भेटिएको प्रकरण । त्यसकारण जन्मनु नहुने बच्चा भनिएको हो । भौतिक हिसाबले जन्मनु नहुने होइन ।

    हाम्रो समाजको तितो यथार्थ हामीलाई थाहा छ नि, कति गर्भिणी महिलाहरुले आत्माहत्या गरेका छन् । कतिलाई हत्या गरिएको छ । कति महिलाले शिशु जन्मिएपछि हत्या गरेका छन् । ती त महान आमा हुन् जसले अपराधको बाटो अपनाइनन् । आफू बाँच्ने र शिशुलाई पनि बचाउने उद्देश्य हो तर नाटकको अगाडिको पर्दा खोलिनेवित्तिकै वीचको पर्दा पनि खोलियो र दर्शकहरुले मञ्चपछाडिको दृश्य पनि देखिलाले ।

दोषभित्र दोष नै भेटिन्छ भन्ने हाम्रो मानसिकता विकास भइसकेको रहेछ त यसैमा सन्तुष्टि खोज्ने बानी हामीलाई परेको छ । यो शिशु फेला प्रकरणले एकपटक यो मान्यतालाई पनि हल्लाइदिएको छ ।